काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले गएराति ट्वीट गर्दै आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको छ । यसको नतिजा ww.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।
नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ । ‘दूतावासले भनेको छ, ‘डीभी बारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ ।’ अमेरिकामा रहेका नेपालीले सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ । दूतावासले डीभी परेको जानकारी बारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ ।
डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ । अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ ।
अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो । पछिल्लो ५ वर्षमा ५० हजारभन्दा बढी कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ । अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकका नागरिकले भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् । अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् ।